तीन सुत्रकथा

महान नेता

महान नेताले नागरिक हितकोलागि दिनभर शहरलाई अस्तव्यस्त बनाउनु भयो । कतै भुसतिघ्रे लगाएर प्राध्यापक कुटाउनु भयो, कतै ढुंगामुडा गरेर गाडीका सिसा फुटाउनु भयो । साँझमा दिनभर भएको जन-धनको क्षतिको विवरण जुटाउनु भयो। अनि यो सरकारले शान्ति स्थिति कायम राख्‍न नसकेकोले आफैंले सरकार बनाउन पाउनु पर्ने कुरा उठाउनु भयो ।

राष्ट्रभक्ति

कवि सम्मेलनमा कविज्यूले राष्ट्र प्रेमले ओतप्रोत भएको एकदमै मनछुने कविता बाचन गर्नु भयो । श्रोताहरु उनको राष्ट्र प्रेम देखे मुग्ध भए, निर्णायकहरु उनको वीर रसको भाव सुनी स्तब्ध बने । तुरुन्तै उनको राष्ट्रभक्तिको कदर गर्न दुई हप्ता पछि दोशल्ला ओढाउने निर्णय भयो ।

कार्यक्रको दिनमा कविज्यूको सट्टा अर्कै व्यक्ति पुरस्कार थाप्न आए, अनि कविज्यू आफ्नो डि.भि. को उपयोग गर्दै अघिल्लै हप्ता अमेरिका तर्फ उडेको बताए ।

यथार्थ र आदर्श

के.एफ. सी. को फास्ट फुड खाँदै गर्दा, एकजना विदेशी साथीले युट्युबमा हेरेको गढीमाई मेलाको भिडियोको चर्चा उठायो। यस्तो हिंसा बन्द गर्नु पर्ने जोडदार तर्क जुटायो। मैले आफू मांसहारी भएसम्म यस्तो कुराको विरोध गरेर बुद्धि बिलास नगर्ने बताउँदा बताउँदै नजिकै आईसकेको चाडको लागी टर्की जुटाउन हत्तार भएको भन्दै आफ्नो बाटो ततायो ।

आयातीत संस्कृति (लघुकथा)

-एक-

सानो छोरालाई आमाको काखमा खेल्नै पुगेको थिएन। बाबुको काँधमा घोडा चढ्ने रहरै पुगेको थिएन । अलिकता छोराको भविष्यलाई सोचेर, अनि अलकता भने फुर्सद खोजेर बाबुआमा दुबैले आपसी सहमतिमा सानो छोरालाई छात्रावासमा नै बस्ने गरी आवासीय स्कुलमा हालिदिए ।

-दुई-

छोराले पढाई सक्काई सकेको थियो। व्यस्त हुने काममा लागी सकेको थियो । अलिकता छोराको गृहस्थीको लागि सोचेर, अनि अलिकता भने व्यबहार सक्काउन खोजेर बाबुआमा दुबैले पढे गुनेको परिवारबाट जागीरवाला केटी खोजेर घरमा बुहारी पनि भीत्राईदिए

-तीन-

बुढाबुढीको उमेर ढल्की सकेको थियो । आँखा कमजोर अनि हात खुट्टा गलीसकेको थियो। सानोमा सधैं बाहिर बस्ने छोराले संस्कार नै बुझेको थिएन, अर्काको घरबाट आएकी बुहारीलाई झन ममता नै थिएन। अलिकता बाबुआमाको हेरचाह होस भन्ने ठानेर, अनि अलिकता आफ्नो झंझट छुट्ने जानेर, छोरा बुहारी दुबैले आपसी सल्लाहमा बाबुआमा दुबैलाई बृद्धाश्रममा हालीदिए ।

विशेषता (लघुकथा)

vishes Aaina(यो लघुकथा यही ब्लगमा पनि धेरै अघी अंग्रेजीमा लेखेर हालेको थिएँ, तर धेरै दिन ब्लग अपडेट गर्ने मेसो नमिलेकोले हाललाई फेरि नेपाली भाषामा लेखेर टाँस्दैछु)

देशका एकजना प्रतिष्ठित वैज्ञानिकले एउटा बिशेष प्रकारको ऐनाको आविष्कार गरेको समाचारलले सवैतीर चर्चा पायो । सो ऐना, झ्वाट्ट साधारण ऐना जस्तै देखिए पनि मानिसरुले त्यसमा हेर्दा अनुहारको प्रतिबिम्बको साटो अरुनै भिन्न भिन्न कुराहरु देख्दथे।

यसरी अनुहार नदेखिने विशेष ऐनाको खास विशेषता भने पछि मात्रै खुलाउने वताएर ती वैज्ञानिकले आफ्नो आविष्कारको सार्वजनिक प्रदर्शनको आयोजन गरे ।

धेरै दर्शकहरुले प्रदर्शनीमा गएर त्यो विशेष ऐना हेरे, तर ऐनामा आ-आफ्नो अनुहारको साटो सवैले भिन्न भिन्न रंगको संयोजन र प्रकाश पुञ्ज अनी अकल्पनीय विम्बहरु मात्रै देखे ।

प्रदर्शनीको अन्तिम दिनमा एकजना चर्चित नेता ऐना अगाडि आएर उभिए, उनले त्यसमा यौटा कालो कालो धमिलो र अस्पष्ट चित्र देखे र भनेः “मलाई त यो आकृति मन परेन, यो त राम्रो छैन ।”

एकजना सानो बालक पनि त्यहा आईपुगेको थियो । ऐनाको अगाडि पुग्ने बित्तिकै उ खुसीले उफ्रीयो। आफूले त्यसमा चमकिलो सफा र सेतो प्रकाशपुञ्ज देखेको बताउँदै उसले भन्यो “यो ऐना त साह्रै राम्रो रहेछ”।

अर्का एकजना बाटोमा हिडदै गरेको सन्तलाई पनि वैज्ञानिकले आग्रह पूर्वक ऐना अगाडि उभ्याए । उनले एकैछिन त्यहाँ दृष्टिगोचर गरे र सामान्य रुपमा आफूले त्यसमा केहि पनि नदेखेको वताए “यो त पानी जस्तो रगंहिन र हावा जस्तो निर्विकार छ “।

एउटै कुराको बारेमा तीन थरी अती विपरीत र पूर्ण भिन्न बक्तव्य आएपछि उपस्थित पत्रकारहरुले वैज्ञानिकलाई सो ऐनाको विशेषता बताइदिन भने । वैज्ञानिक एकैछिन मौन रहे, अनी लामो सास फेरेर बोल्न शुरु गरे: “… यो पनि अरु ऐना जस्तै प्रतिबिम्ब बनाउने ऐना नै हो, …तर फरक यत्ती छ की यसले शारीरीक बिम्ब हैन, मानसिक सोच, चित्त दशा र चरित्रलाई प्रतिबिम्बित गर्छ”

पर्खाल (लघुकथा)

पर्खाल केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्‍यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो । तर उजूर कमजोर भएर हो वा छिमेकी बलियो भएर हो कुन्नि, न त कसैले अनुसन्धान नै गर्‍यो, न त छिमेकी नै कारवाहीमा पर्‍यो । लगाएको पर्खाल लगाएकै भयो ।

त्यसको केही समयपछि उसको अर्को छिमेकीले पनि विस्तारै आफ्‍नो पर्खाल मर्मत गर्ने बहानामा पुरानो पर्खाल भत्काई दुई-तीन फिट बाटो च्यापी नयाँ पर्खाल लगायो । उसले पुन: निवेदन दिनुपर्ने ठाउँमा गएर निवेदन दियो, नालिस हाल्नु पर्ने ठाउँमा गएर नालिस पनि हाल्यो । तर नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।

अघिल्ला दुई जनाबाट प्रेरणा पाएर गएको हप्ता, उसको तेस्रो छिमेकीले आफ्नो चार आनाको जग्गालाई बाटोतर्फ ‘घचेटेर’ ६ छ आनाको बनायो । यसरी सवैजनाले सार्वजनिक जग्गा मिच्दै व्यक्तिगत बनाउँदै गरेको उसलाई पटक्कै मन परेको थिएन । तर किन हो कुनि यसपाला भने उसले मुद्दा हालेर शत्रु कमाउने काम पनि गरेन, निरर्थक विवाद गरेर मूर्ख बन्ने बाटो पनि रोजेन ।

ऊ यसरी चुपचाप शान्त बसेको देखेर छर-छिमेकमा सबै छक्क परेका थिए । वास्तवमा अर्काले हाकाहाकी सार्वजनिक जग्गा मिच्दा पनि ऊ यसरी शान्त बस्नु एउटा आश्‍चर्यकै कुरा थियो । तर आश्‍चर्य भन्दा महा आश्‍चर्य घटेपछि मात्र सबैले उसको परिवर्तित शान्त स्वभावको रहस्य बुझे । कुरा के भने, आज बिहानदेखि ऊ पनि विस्तारै आफ्नो घर कम्पाउण्डको पुरानो पर्खाल भत्काएर चार फिट अगाडि नयाँ पर्खालको जग खन्दै थियो ।

एकादेशको कथा (लघुकथा)

स्थिति: संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो, जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो । समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे ।

प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले ।

परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्‍नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए ।

समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो, अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो