यथार्थ र आदर्श (लघुकथा)

Nepali Neta

सानै देखि भिन्दै स्वभावको थियो । स्कूल जाने बेलामा बरालिएर हिँड्थ्यो, कलेज पढ्ने बेलामा हुलदंगामा पुग्थ्यो अनि काम गर्ने उमेर पुग्दा बेकार घुम्थ्यो ।

नपढेको, काम नभएको र बस्ने ठेगान पनि नभएको हुनाले उसलाई कसैले पनि छोरी दिएनन् र उसको विवाह पनि हुन सकेको थिएन । त्यत्तिकै मा प्रजातन्त्र आएकोले मुढे बलकै भरमा ऊ एउटा दलमा प्रवेश गर्‍यो । तर दलको नीति नियम विपरीत काम गरेको भनेर केही समय पछि उ सो दलबाट निकालियो र अर्को दलमा पस्यो । यसरी समय-समयमा दल र नीति फेर्दै-फेर्दै उ हालको दलमा घुसेको थियो ।

कुनै निश्चित शिक्षा, योग्यता वा कार्य कुशलता नभए पनि छल, बल र चाकडी-चुक्लीको कलामा भने निकै निपुण भइसकेकोले यस पाला भने उ निकै ठूलो पदमा पुगेको थियो ।

भर्खर आफ्नो पद बहाली गरेर फर्कँदा उसलाई पत्रकारहरुले उसको वाल्यकाल देखीको जीवनीमा प्रकाश पारिँदिन अनुरोध गरे । उसले एकैछिन आँखा चिम्ल्यो, केही बेर घोत्लीयो र गम्भीर मुद्रामा यसरी आदर्श छाँटन थाल्यो : “ मलाई सानै देखि देशको हाल देखेर चिन्ता लाग्थ्यो र त्यही चिन्ता र उकुसमुकुसका कारण औपचारिक शिक्षापनि राम्ररी पुरा गर्न पाईँन । जवानीमा पनि देशमा व्याप्त विभिन्न विकृति र भ्रष्टाचारको विरोध गर्दै हिँडेकाले काम गर्न र घरजम गर्न समेत समय अनुकूल रहेन…” ।

उसले एक पटक गहिरो सास फेर्‍यो र फेरी भन्न थाल्यो “… जनताको राज स्थापना भएपछि पनि आफ्नो अलग र जन पक्षीय विचारधाराका कारण धेरै पार्टीसँग मिल्न असजिलो भएकोले मैले धेरै पार्टीलाई छाडेँ र हाल जनताको सेवा गर्नका लागि यो स्थानमा पुगेको छु । मलाई आफ्नो कार्य क्षमतामा पुरा विश्वास छ र आउने दिनहरुमा जनता प्रतिको कर्तव्य अवश्य पुरा गरेर छाड्ने छु ”

दृष्टिकोण ! -एक लघुकथा-

संसारको भिन्न भिन्न दुई कुनामा एकै दिन र एकै समयमा दुईजना बालकको जन्म हुन्छ । प्रकृतिको नियम भनौँ वा ग्रह-नक्षत्रको प्रभाव, भिन्न स्थान, भौगोलिक वातावरण, समाज र परिस्थितिमा जन्मेर पनि सानै देखि दुवै जनाको स्वभाव र आचरण एकै प्रकारको देखिन थाल्छ ।

दुवै बालकहरु सानै देखि अटेरी, जिद्दी र झगडालु देखिन थाले । एउटा स्थानका अभिभावकहरूको अनुहारमा आफ्नो छोराको त्यो स्वभाव देखेर चिन्ताका रेखाहरु देखिन थाल्यो भने अर्को स्थानमा वच्चा निर्भीक र निडर भएको निर्क्योल निकालियो ।

किशोर अबस्थामा प्रवेश गर्दा पनि दुबैमा प्राकृतिक समानता र प्रवृत्तिगत समरुपता प्रष्टै देखियो। दुवै बालकहरु पढ्न भन्दा लड्न, सम्बाद भन्दा विवाद र तर्क भन्दा मुढे बलमा आश्रित हुँदैँ जानथाले।

जवानीमा प्रवेश गर्दाको समयमा दुवै जनामा अभिमान, अहंकार र घमंडको चरमता प्रष्टै देखिन्थ्यो भने दुवै जना आ-आफ्नो स्थानमा बल मिच्याईँ, गुटबन्दी र उपद्रोहरुमा सम्मिलित हुन थालेका थिए । वैयक्तिक गुण, चरित्र र रवैया एकै प्रकारको भए पनि देश काल परिस्थिति को भिन्नताका कारण दुबैजनालाई समाजले हेर्ने दृष्टिमा भने आकाश जमिनको अन्तर देखिन थाल्यो ।

एक स्थानको युवक उसका असामाजिक क्रिया-कलाप, झगडालु स्वभाव र कट्टरपन्थी सोचका कारण स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीमा पर्न थाल्छ भने अर्को स्थानको व्यक्ति भने समान चरित्र र उस्तै व्यक्तित्वका कारण पनि  हक्की, साहसी र नेतृत्व दिन सक्ने नेताको रूपमा चिनिन थाल्छ ।

समय बित्दै जाँदा, दुवै जना आ-आफ्नै नैसर्गिक गुणका कारण मुठभेड, भिडन्त र तोडफोडमा उत्रन थाले । एउटा देशमा सो कुरा सामाजिक व्यवस्था, शान्ति सुरक्षा र स्थानीय कानुनको खिलाफ भएकोले कानुनी राज्यको स्थिति बनाइ राख्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सो व्यक्तिलाई  कानुनी नियन्त्रणमा लिइन्छ र जेल चलान गरिन्छ । तर सुनिन्छ अर्को देशको व्यक्ति भने आजकल सो देशको ठूलो नेता, विद्वान राजनीतिज्ञ र कट्टर देशभक्तको रुपमा प्रतिस्थापित भइसकेको छ रे !

उधारो आदर्श (लघुकथा)

सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।

“…म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ…” पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो “…राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको”।

“मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्…” दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो “… राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु ” ।

“मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन…” तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो “…मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको”।

उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।

“तिमीहरु सबै यहीँ नै रहेछौ,…देशमा भर्खरै ठुलो राजनैतिक परिवर्तन भएको छ …थाहा पायौ ?…” भित्र पस्दापस्दै चौँथो व्यक्तिले पहिलो व्यक्तितर्फ हेर्दै भन्यो “…तिम्रो दलले आफ्नै सरकार बने मात्रै समस्या समाधान हुने भन्दै अहिलेको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ..”।

त्यसपछि उ दोस्रो युवकतर्फ फर्यो “…अनि तिम्रो दलका नेताहरु बीच भने हालको अबस्थामा के गर्ने भन्ने वारेमा गम्भीर मतभेद भएछ…” उसले अगाडि भन्यो ” …त्यसैले अब कसलाई समर्थन र कस्को विरोध गर्ने भन्ने वारेमा मतभेद हुँदा तिम्रो दल टुक्रीने पक्का भएको छ “।

त्यसपछि उसले तेस्रो व्यक्तिलाई हेर्दै भन्यो “परिवर्तत अबस्थामा के निर्णय लिने भने निर्क्योल गर्न नसकेपछि तिम्रा दलका वरिष्ठ नेतहरु भने अहिले छिमेकी राष्ट्रका राजदूत भेट्न विदेशी नियोगमा पुगेकाछन् ” ।

परिवर्तन 

bribe त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।

मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।

केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।

पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।

हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ ….जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।

संस्कृति प्रेम

लोकगीत प्रतियोगिताको समापन समारोहमा गएर मन्त्रीज्यूले निकै सान्दर्भिक र सागर्भित भाषण दिए : “संस्कृति नै हाम्रो पहिचान हो…हाम्रो संस्कृति रहेसम्म मात्रै हामी रहन्छौं, संस्कृति नै रहेन भने हाम्रो अस्तित्व नै रहँदैन । त्यसैले हामीले हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ …, …”

तालीको गडगडाहटद्वारा मन्त्रीज्यूको भाषणको स्वागत गरीयो । गन्यमान्य व्यक्ति र अन्य विद्वान वक्ताले उहाँको संस्कृति प्रेमको उच्च मूल्याकंन गरे । आफ्नो भाषा र संस्कृतिप्रति मन्त्रीज्यूको सदभाव र झुकाव देखेर उपस्थीत जनसमुदाय गद्गद् भयो ।

कार्यक्रम समापनपश्चात् मन्त्रीज्यू हतार हतार आफ्नो चिल्लो आरामदायी गाडीमा पसे । गाडीका ढोकाहरु ढाकढुक बन्द भए । मन्त्रीज्यूलाई बिदाइ गर्न आउनेहरु गाडी बाहिरबाटै हात जोडेर अभिवादन गर्दै थिए ।

गाडीभित्रको रेडीयोमा मधुरो स्वरमा यौटा पुरानो नेपाली गीत बजिरहेको थियो । चालकले गाडी स्टार्ट गर्नै लागेको थिए, मन्त्रीज्यूको आवाज आयो : “ खै, रामबहादुर, पहिले त्यो गीत बन्द गर त …!…यहाँपनि दुई घण्टासम्म पट्यार लाग्ने लोकगीत सुन्दा-सुन्दा दिक्क लागेको छ … बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।”

(साप्ताहिक—२१-१०-२०५७)