पर्खाल (लघुकथा)

पर्खाल केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्‍यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो । तर उजूर कमजोर भएर हो वा छिमेकी बलियो भएर हो कुन्नि, न त कसैले अनुसन्धान नै गर्‍यो, न त छिमेकी नै कारवाहीमा पर्‍यो । लगाएको पर्खाल लगाएकै भयो ।

त्यसको केही समयपछि उसको अर्को छिमेकीले पनि विस्तारै आफ्‍नो पर्खाल मर्मत गर्ने बहानामा पुरानो पर्खाल भत्काई दुई-तीन फिट बाटो च्यापी नयाँ पर्खाल लगायो । उसले पुन: निवेदन दिनुपर्ने ठाउँमा गएर निवेदन दियो, नालिस हाल्नु पर्ने ठाउँमा गएर नालिस पनि हाल्यो । तर नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।

अघिल्ला दुई जनाबाट प्रेरणा पाएर गएको हप्ता, उसको तेस्रो छिमेकीले आफ्नो चार आनाको जग्गालाई बाटोतर्फ ‘घचेटेर’ ६ छ आनाको बनायो । यसरी सवैजनाले सार्वजनिक जग्गा मिच्दै व्यक्तिगत बनाउँदै गरेको उसलाई पटक्कै मन परेको थिएन । तर किन हो कुनि यसपाला भने उसले मुद्दा हालेर शत्रु कमाउने काम पनि गरेन, निरर्थक विवाद गरेर मूर्ख बन्ने बाटो पनि रोजेन ।

ऊ यसरी चुपचाप शान्त बसेको देखेर छर-छिमेकमा सबै छक्क परेका थिए । वास्तवमा अर्काले हाकाहाकी सार्वजनिक जग्गा मिच्दा पनि ऊ यसरी शान्त बस्नु एउटा आश्‍चर्यकै कुरा थियो । तर आश्‍चर्य भन्दा महा आश्‍चर्य घटेपछि मात्र सबैले उसको परिवर्तित शान्त स्वभावको रहस्य बुझे । कुरा के भने, आज बिहानदेखि ऊ पनि विस्तारै आफ्नो घर कम्पाउण्डको पुरानो पर्खाल भत्काएर चार फिट अगाडि नयाँ पर्खालको जग खन्दै थियो ।

एकादेशको कथा (लघुकथा)

स्थिति: संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो, जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो । समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे ।

प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले ।

परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्‍नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए ।

समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो, अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो

मन्त्रीज्यूको साप्ताहिकी (लघुकथा)

आईतवार:

बिहानको कार्यक्रम: शाकाहार र स्वस्थ जीवन बिषयक तीन दिने शिविरको उद्घाटन ।
अपरान्ह: मद्यपान विरुध्द सचेतना र्‍यालीमा सरिक हुने ।
साँझको कार्यक्रम: पाँच तारे होटेलमा ककटेल डिनर ।

सोमवार

बिहान: ‘भौगोलिक जटिलता र सीमा सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रवचन ।
अपरान्ह: नेपाली भू-भागमा विदेशी हस्तक्षपको विरोधमा सडक नाटकको उद्घाटन ।
रातको कार्यक्रम: छिमेकी राजदूताबासमा जलपानमा सरिक ।

मंगलवार

बिहान: भ्रष्टाचार विरुद्ध युवा कार्यक्रममा आतित्थ ग्रहण ।
मध्यान्न: निष्पक्ष न्याय संपादन र घुस-विहीन समाज नामक अन्तरक्रियामा सहभागी हुने।
राती: बिदेशी ठेकेदार र व्यापारीसंग निजी भेट ।

बुधवार

बिहान: नागरिक अधिकार र सभ्य समाजको सृजना नामक बिचार गोष्ठिमा मन्तव्य ।
अपरान्ह: न्यायीक सर्बोच्चता र शान्ति बिषयमा नागरिक समजसंग छलफल।
साझ: दोश्रो दिन आयोजना गरीएको बन्द सफल पार्न रातमा मशाल जुलुश निकाल्न कार्यकर्तालाई निर्देशन ।

बिहीवार

बिहान: बुद्ध जयन्तीको उपलक्षमा भगवान बुद्धको मूर्तिमा माल्यार्पण ।
मध्यान्न: ७ दिने विश्वशान्ति महायज्ञको समापन समारोहमा सरीक ।
साँझ: द्वन्दात्मक भौतिकवाद र ईश्‍वरको अन्धविश्वास नामक बिचारगोष्ठीमा मन्तव्य ।

शुक्रवार

बिहान: ‘सुलभ चिकित्सा जनताको अधिकार’ बिषयक छलफल कार्यक्रममा सरकारी कार्यपत्र प्रस्तुत
मध्यान्न: महंगो उपचार खर्च घटाउने माग सहितका जन-प्रतिनिधिहरु संग बिचार विमर्श
अपरान्ह: निजी क्षेत्रबाट सञ्चालन हुने नव निर्मित नर्सीङ होमको रिबन काटेर उद्घाटन ।

शनिवार

बिहान: मितव्ययीता र खर्च कटौती सम्बन्धित गोष्ठीको पानस बालेर शुभारम्भ ।
अपराह्न: सादा जीवन उच्च बिचार बिषयक प्रवचन कार्यक्रममा मन्तव्य ।
राती: ७ दिने विदेश भ्रमणको सिलसिलामा सपरिवार विमानस्थल प्रस्थान ।

सफल लेखक (लघुकथा)

Lekhak 1

उसलाई सानै देखि साहित्यमा एकदमै रुचि थीयो। उमेर र अनुभवहरु बढ्ने क्रममा उसको पढ्ने रुचि बिस्तारै लेख्‍नेतर्फ पनि मोडियो ।

आफ्नो देश, भाषा र संस्कृति प्रति अगाध प्रेम र लगाव भएकोले उसको रचनाहरुमा पनि देश-प्रेम, सौन्दर्यचेत र सामाजिक भावहरु प्रष्ट भेटिन्थे । उ यस्तै सामजिक भावना र देशप्रेमको वारेमा कथा, कविताहरु लेख्थ्यो: “हिमाली छाया”, “नेपाली माया” “सुनौलो बिहानी” आदि आदि । तर सम्पादकहरु उसका रचना पढ्न अल्छी मान्थे, पत्रिकाहरुमा उसको कविताले ठाउँ पाउँदैनथे र उसका रचनाहरु आफ्नै डायरीमा मात्रै सीमित थिए ।

बिस्तारै उसले बजारमा चल्ने साहित्यमा कलम चलाउन थाल्यो र अधुरो बिषय, असम्भव शीर्षक र बेमेल कथनहरुलाई आफ्नो रचनामा उतार्न थाल्यो : “हिंसक बुद्ध”, “खुकुरी काट्ने अचानो”, “लंगडाको जुत्ता” आदि आदि। अब बिस्तारै प्रकाशन गृहहरुमा उ चिनिन थाल्यो, पत्र-पत्रिकामा फाट्ट-फुट्ट उसका रचनाहरु छापीन थाले र उ ‘राम्रो लेख्‍ने’मा गनिन थाल्यो ।

हिजोआज, उसको कविता भन्दा कविताको शीर्षक लामा हुन्छन। उसको कथाको पहिलो अनुच्छेद र दोश्रो अनुच्छेदमा कुनै तारतम्य भेटिन्नन। उ निबन्ध जस्तो कविता, कथा जस्तो गीत र सम्बाद जस्तो समिक्षा लेख्छ ।

आजकल उ अमूर्त सर्जक दर्शन-लेखकको नामले चिनिन्छ र सामान्य मानिसको दिमागबाट छिर्न हम्मे हुने शीर्षकमा रचनाहरु लेख्छ: “चीसो आगो”, “लाटोकसेरोको सपना”, “भिसेनको पाखुरा र जंगली च्याँखुरा” आदि आदि। उसका रचनाहरु सम्पादकहरु मागी मागी छाप्छन, प्रबुद्धवर्गहरु खोजी खोजी पढ्छन र उसले कैयौं प्रशंसापत्र र पुरस्कारहरु पनि पाई सकेको छ ।

स्याटेलाइट संस्कृति

Satellite Culture म नेपालको प्रतिनिधित्व गर्न विदेश जाने केहि विद्यार्थिहरुको चयन गर्ने काममा खटिएको थिएँ । मेरो अगाडि यौटा समृद्ध परिवारको जस्तो देखिने १४-१५ बर्षको केटा थियो ।

अन्तरवार्ताको क्रममा मैले उसलाई सोधें “ नेपालको राजधानी शहर कुन हो?”, “उडमाण्डु!” उसले पूर्ण आत्मविश्वाससाथ तर अति उदेक लाग्ने जवाफ दियो ।

“धत् , नेपालको राजधानी काठमाण्डौ पो हो त … ” मैले सम्झाउन खोजें “ खै, नेपालका केहि सञ्चार माध्यमले त त्यसै भन्छन त” उसले तर्क तेर्स्यायो ।

“यौटा परम्परागत चाडको नाम भन त” मैले दोस्रो प्रश्‍न राखें। “ भेलिन्टाइन्स डे” उसले उत्साहित हुँदै जवाफ दियो । “यो कहाँ नेपाली चाड हो र? … ” मैले अलि गम्भिर भएर प्रतिप्रश्‍न गरें । “खै, रेडियो र पत्रिकामा दशैं भन्दा बढि चर्चा गरीयो त”  उसले प्रमाण जुटाउन खोज्यो ।

“बुद्धको बारेमा केहि थाहा छ ?” मैले तेस्रो प्रश्‍न अघि सारें । “त्यो त हामीलाई पढ्नै पर्दैन” उसले अति सरलताले उत्तर दियो ।

आफ्नो सबै प्रश्‍नको सोचे भन्दा विल्कुल गलत जवाफ आएपछि अन्तमा मैले उसको परिचय मागें । उसले अघिल्ला सबै प्रश्‍नहरुको जवाफको कारण पनि छर्लङ्ग हुने गरी आफ्नो परिचय यसरी बतायो “ मेरो नाम अलवर्ट शर्मा हो, म क्रिश्‍चियन धर्ममा विश्‍वास गर्छु । हाल म विदेशी शिक्षक शिक्षिकाहरुद्वारा पढाईने यौटा अंग्रजी स्कुलमा पढ्छु । फुर्सतको समयमा स्टार टि.भि. हेर्छु, ईन्टरनेट चलाउँछु र एफ. एम.का कार्यक्रमहरु सुन्छु ।

विडम्बना

bidambana

उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्‍यो ।

पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।

जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”

दिन बित्दै जाँदा, कानुनि सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।

केही समयपछि एकदिन उनिहरुको बीचमा गम्भीर छलफल भयो। त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’

(गोरखापत्र २५-०२-२०५८)

‘साईड ईफेक्ट’

यौटा गैह्र सरकारी संस्थानको आयोजन, स्वदेशी बिद्धानहरुको संयोजन र बिदेशी दाताको प्रायोजनमा त्यो गाँउमा बालश्रमको बिषय लाई लिएर यौटा बिचार गोष्ठि भयो ।

बालहितको नारा, अविभावकले लिनु पर्ने अविभारा र अन्तराष्ट्रिय बिचारधारालाई दृष्टिगत गर्दा बालबालीकालाई श्रममा लगाउन नमिल्ने देखिएकोले गोष्ठिको अन्तिम दिन अब उप्रान्त त्यस गाँउमा बालबालीकाहरुलाई कुनैपनि किसीमको श्रममा नलगाउने र लाग्न नदिने निर्णय भयो ।

खर्च जुर्टाईदिने दाता, समाज सुधारक भनेर चिनीएका नेता र आयोजक कार्यकर्ताले करतल ध्वनीका साथ सो निर्णयको स्वागत गरे ।

भारी बोकेर गुजारा गर्ने हर्के, गिट्टी कुटेर जिबन धान्ने बिर्खे र उन कातेर हातमुख जोर्ने जितेका परिबार यो निर्णय सुनेर अकमक्क परे ।

उक्त कार्यको ‘सफलता’ पछि शहर फर्केका संयोजकहरु प्रायोजकको गुण गाउन थाले, प्रायोजकहरुले समाजसेवीको दर्जा पाउन थाले भने आयोजकहरु त्यो भन्न्दा पनि शसक्त अर्को योजना बनाउन थाले ।

उता गाँउमा, दिनभरि गिट्टी कुटेर रातीको पाठशालामा पढने बिर्खेको छोरा बालश्रम उन्मुलन भई काम खोसीएकोले पैसा तिर्न नसक्दा कक्षाबाट निकालीयो । गलैंचाको धागो कातेर बाबुआमा पाल्ने जितेकी छोरी बेकम्मा भई बरालीएर हिडन थाली भने बिरामी आमाको उपचार खर्च जुटाउन अरु कुनै श्रोत नभए पछि हर्केको छोराले पाकेट मार्ने पेशा अपनाउन थाल्यो ।

यता आयोजकहरुले दातालाई दिएको प्रतिबेदनले गाँउमा बालश्रमको अन्त्य भएको देखाँउदै थियो । उता गाँउमा रोजगार खोसीएकोले बाल अपराध मौलांउदै थियो ।