अपरिवर्तित परिवर्तन (लघुकथा)

त्यति बेला किसोर अबस्थाकै थियो, भारी बोकेर गुजारा गर्ने उसको बाबुले रातमा डराई-डराई “…अब श्री ३ को सरकार जान्छ र ‘रामराज्य’ आउँछ…” भनेको उसले सुन्ने गरेको थियो । ‘श्री ३’ र ‘श्री ५’ भनेको के हो भन्ने नबुझे पनि ‘रामराज्य’मा भने उसको विशेष ध्यान थियो । अक्षर-कागज नपढेको भएपनि गाउँमै सुनेको रामायणको कथाको आधारमा उसले सो ‘रामराज्य’ आएपछि सबैले सुख पाउनेमा ढुक्क थियो ।

श्री ३ फालिए, र प्रजातन्त्र पनि आयो । तर अचानक केही समयमै उसको बाबुको मृत्यु भएकोले सुख र रामराज्य चाहिँ हैन, बाबुको डोको र नाम्लो भने उसको थाप्लोमा आयो । जीवन गुजारा गर्न अर्को कुनै उपाय र सहारा नभएकोले उसले पनि बाबुकै जस्तो भारी बोक्ने काम सुरु गर्‍यो ।

उसले दशकौँ भारी बोकेपछि देशमा फेरि निकै हलचल भएको भान उसले पायो। ठूला-ठूला कुरा नबुझे पनि यस पाला भने देशमा असली प्रजातन्त्र आउँछ रे अनि सबैले सुख पूर्वक बाँच्न पाउँछन् रे भन्ने सम्म उसले पनि बुझ्यो । राजनैतिक वृत्त र उपल्लो तहमा के कस्ता परिवर्तन भए उसले भेउ सम्म पनि पाएन । तर गाउँकै नेताहरूले “…अब तिमीहरू सबै सही अर्थमा स्वतन्त्र भएका छौ…” भनेको उसले पनि सुन्यो ।

दोस्रोपल्ट ‘स्वतन्त्र’ हुँदासम्म उसको शरीर कमजोर भइसकेको थियो । स्वन्त्रताको फल उ सम्म नआए पनि यति बेला सम्ममा उसको थाप्लोको नाम्लो र भारी भने उसकै छोराको थाप्लोमा सरिसकेको थियो । यस बीचमा न गाउँमा कुनै कल-कारखाना खुले, न बिजुली पुग्यो न बाटो नै बने । त्यसो त बाटो बनेर गाडीले सामान वसार-पसार गर्न थाले आफ्नो व्यवसाय चौपट हुन्छ भनेर उसका दौँतरीहरू बीच कहिलेकाहीँ कुराकानी पनि हुने गर्थ्यो ।

उसको छोराले भारी बोक्न थालेको केही वर्ष पछि देशमा फेरि परिवर्तनका आवाजहरु उठ्न थाले । धेरै सम्मको चर्काचर्की र जोडतोडमा कहाँ, कहाँ के कस्ता छल-फल, लेन-देन र बाँडफाँडमा कुरा भए उसले बुझेन । तर गाउँको चौतारीमा घाम ताप्दै गर्दा उसले फेरि गाउँका नवनेताहरुले “अब भने हामीहरु साँचो अर्थमा देशका नागरिक भयौँ र अब हाम्रा कुनै मालिक छैनन् हामी ने देशका मालिक भयौँ …जनता अब सम्प्रभूसत्ता सम्पन्न भए…” भनेको सुन्यो ।

ऊ चौतारीबाट जुरुक्क उठ्यो र वनदेवी थानमा पुग्यो । फाटेको चप्पल भएपनि त्यसलाई फुकालेरै वनदेवीको अगाडि लम्पसार पर्‍यो र निन्याउरो मुख लगाएर मनमनै देवीसँग पुकारा गर्न लाग्यो : “ हे माता!, रामराज्य, प्रजातन्त्र, गणतन्त्र केही चाहिएको छैन…. तर मेरो पुर्पुरोको नाम्लो र भारी मेरो नातीले भने व्यहोर्न नपरोस्…”

यथार्थ र आदर्श (लघुकथा)

Nepali Neta

सानै देखि भिन्दै स्वभावको थियो । स्कूल जाने बेलामा बरालिएर हिँड्थ्यो, कलेज पढ्ने बेलामा हुलदंगामा पुग्थ्यो अनि काम गर्ने उमेर पुग्दा बेकार घुम्थ्यो ।

नपढेको, काम नभएको र बस्ने ठेगान पनि नभएको हुनाले उसलाई कसैले पनि छोरी दिएनन् र उसको विवाह पनि हुन सकेको थिएन । त्यत्तिकै मा प्रजातन्त्र आएकोले मुढे बलकै भरमा ऊ एउटा दलमा प्रवेश गर्‍यो । तर दलको नीति नियम विपरीत काम गरेको भनेर केही समय पछि उ सो दलबाट निकालियो र अर्को दलमा पस्यो । यसरी समय-समयमा दल र नीति फेर्दै-फेर्दै उ हालको दलमा घुसेको थियो ।

कुनै निश्चित शिक्षा, योग्यता वा कार्य कुशलता नभए पनि छल, बल र चाकडी-चुक्लीको कलामा भने निकै निपुण भइसकेकोले यस पाला भने उ निकै ठूलो पदमा पुगेको थियो ।

भर्खर आफ्नो पद बहाली गरेर फर्कँदा उसलाई पत्रकारहरुले उसको वाल्यकाल देखीको जीवनीमा प्रकाश पारिँदिन अनुरोध गरे । उसले एकैछिन आँखा चिम्ल्यो, केही बेर घोत्लीयो र गम्भीर मुद्रामा यसरी आदर्श छाँटन थाल्यो : “ मलाई सानै देखि देशको हाल देखेर चिन्ता लाग्थ्यो र त्यही चिन्ता र उकुसमुकुसका कारण औपचारिक शिक्षापनि राम्ररी पुरा गर्न पाईँन । जवानीमा पनि देशमा व्याप्त विभिन्न विकृति र भ्रष्टाचारको विरोध गर्दै हिँडेकाले काम गर्न र घरजम गर्न समेत समय अनुकूल रहेन…” ।

उसले एक पटक गहिरो सास फेर्‍यो र फेरी भन्न थाल्यो “… जनताको राज स्थापना भएपछि पनि आफ्नो अलग र जन पक्षीय विचारधाराका कारण धेरै पार्टीसँग मिल्न असजिलो भएकोले मैले धेरै पार्टीलाई छाडेँ र हाल जनताको सेवा गर्नका लागि यो स्थानमा पुगेको छु । मलाई आफ्नो कार्य क्षमतामा पुरा विश्वास छ र आउने दिनहरुमा जनता प्रतिको कर्तव्य अवश्य पुरा गरेर छाड्ने छु ”

दृष्टिकोण ! -एक लघुकथा-

संसारको भिन्न भिन्न दुई कुनामा एकै दिन र एकै समयमा दुईजना बालकको जन्म हुन्छ । प्रकृतिको नियम भनौँ वा ग्रह-नक्षत्रको प्रभाव, भिन्न स्थान, भौगोलिक वातावरण, समाज र परिस्थितिमा जन्मेर पनि सानै देखि दुवै जनाको स्वभाव र आचरण एकै प्रकारको देखिन थाल्छ ।

दुवै बालकहरु सानै देखि अटेरी, जिद्दी र झगडालु देखिन थाले । एउटा स्थानका अभिभावकहरूको अनुहारमा आफ्नो छोराको त्यो स्वभाव देखेर चिन्ताका रेखाहरु देखिन थाल्यो भने अर्को स्थानमा वच्चा निर्भीक र निडर भएको निर्क्योल निकालियो ।

किशोर अबस्थामा प्रवेश गर्दा पनि दुबैमा प्राकृतिक समानता र प्रवृत्तिगत समरुपता प्रष्टै देखियो। दुवै बालकहरु पढ्न भन्दा लड्न, सम्बाद भन्दा विवाद र तर्क भन्दा मुढे बलमा आश्रित हुँदैँ जानथाले।

जवानीमा प्रवेश गर्दाको समयमा दुवै जनामा अभिमान, अहंकार र घमंडको चरमता प्रष्टै देखिन्थ्यो भने दुवै जना आ-आफ्नो स्थानमा बल मिच्याईँ, गुटबन्दी र उपद्रोहरुमा सम्मिलित हुन थालेका थिए । वैयक्तिक गुण, चरित्र र रवैया एकै प्रकारको भए पनि देश काल परिस्थिति को भिन्नताका कारण दुबैजनालाई समाजले हेर्ने दृष्टिमा भने आकाश जमिनको अन्तर देखिन थाल्यो ।

एक स्थानको युवक उसका असामाजिक क्रिया-कलाप, झगडालु स्वभाव र कट्टरपन्थी सोचका कारण स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीमा पर्न थाल्छ भने अर्को स्थानको व्यक्ति भने समान चरित्र र उस्तै व्यक्तित्वका कारण पनि  हक्की, साहसी र नेतृत्व दिन सक्ने नेताको रूपमा चिनिन थाल्छ ।

समय बित्दै जाँदा, दुवै जना आ-आफ्नै नैसर्गिक गुणका कारण मुठभेड, भिडन्त र तोडफोडमा उत्रन थाले । एउटा देशमा सो कुरा सामाजिक व्यवस्था, शान्ति सुरक्षा र स्थानीय कानुनको खिलाफ भएकोले कानुनी राज्यको स्थिति बनाइ राख्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सो व्यक्तिलाई  कानुनी नियन्त्रणमा लिइन्छ र जेल चलान गरिन्छ । तर सुनिन्छ अर्को देशको व्यक्ति भने आजकल सो देशको ठूलो नेता, विद्वान राजनीतिज्ञ र कट्टर देशभक्तको रुपमा प्रतिस्थापित भइसकेको छ रे !

समय यात्रा -एक विज्ञान कथा-

आधा रातको निस्तब्धतामा सायद पुरै अस्तित्व निन्द्राको काखमा पौडिरहेको थियो। तर नेपालको उत्तरी हिम श्रृङ्खलाको बीच बनेको एउटा अनकन्टार सानो उच्च हिमाली मैदान माथीको आकाशमा एउटा अत्यन्तै उज्वल तर शीतल प्रकाशपुञ्ज देखियो । प्रकाश तीव्र गतिकासाथ हिमाली मैदानको नजिक आउँदा त्यो प्रकाशपुञ्जको आकार पनि झन् झन् बढ्दै थियो तर बिना आबाज…..।

मैदानको नजिक पुग्दा देखियो त्यो कुनै प्रकाशपुञ्ज नभै एउटा गोलाकार यान थियो र जुन बिना आबाज आरामसंग जमिनमा अवतरण गर्दै थियो । यानको माथिल्लो भागमा “अन्वेषण -३” लेखिएको थियो र त्यसको मुनि “नेपाल खगोल विज्ञान तथा समयारोहण अध्ययनशाला” लेखिएको थियो । यान जमिनमा अवतरण भएपछि मधुरो प्रकाश मात्रै त्यसमा बाँकी रह्यो र यानको तल्लो भागमा एउटा स्वचालित ढोका बिस्तारै खुल्यो । यानको ढोका खुल्ने बित्तिकै भित्रबाट एकजना ६५-७० का जस्ता देखिने कपाल र दाह्री सेतै फुलेका व्यक्तिसँगै करिब २०-२५ वर्षका जस्ता देखिने १० -१२ जना मानिस पनि बाहिर निस्के । उनीहरूलाई ‘मानिस’ भन्नुमा कुनै आपत्ति नहोला कारण उनीहरूको आकार प्रकार र शारीरिक बनोट हाम्रै जस्तै थियो, सायद हात खुट्टा अलि मसिना र टाउको अलिकता ठूलो मात्रै …।चिसो मैदानमा निस्कने बित्तिकै ती युवाहरूले भुईमा एक प्रकारको बाक्लो चकटी जस्तो आसन ओछ्याए । र सबै जना त्यसमा बसे। ती बुढा व्यक्ति पनि उनको लागि राखिएको बीचको आसनमा बसे … दृश्य हेर्दा यस्तो लाग्थ्यो ती बुढा व्यक्ति उनीहरूका गुरु थिए र ती जवानहरू उनका विद्यार्थी ।
सबै जना आफ्नो आसनमा बस्ने बित्तिकै ती बुढा व्यक्तिले आफ्नो कुरा सुरु गरे: “ हामीहरु आज यो २००० वर्ष अगाडिको भूतकालमा आउनुको मुख्य कारण तिमीहरूलाई आफ्नै पूर्वजहरूको बरेमा वस्तुगत जानकारी दिनु मात्रै हो… ” ।

त्यसपछि ती बुढा प्राध्यापकले करिब १ घण्टा जत्ती त्यही स्थानमा बसेर आफ्ना विद्यार्थीहरूलाई विभिन्न कुराहरू बताए। वातावरण प्रदूषण देखि, भूमण्डलीय तापक्रम वृद्धि अनि आणविक हतियार देखि सौर्य उर्जाका विविध प्रयोग सम्मका । त्यसका साथै नेपाल लगाएत विश्वका देशहरुको राजनीति र द्वन्द समेतका विषयमा गम्भीर चर्चा भए । अनौठो कुरा के भने उनीहरूले चर्चा गरिरहेका सबै विषयहरू संसारमा अहिले घटि रहेका घटनाहरू थिए …तर अचम्म उनीहरू त्यसलाई “भूतकाल” मा व्यक्त गर्दै थिए ।

आफ्नो आख्यान सक्काए पछि तिनले आफ्ना विद्यार्थीहरूतर्फ प्रश्न सूचक दृष्टिले हेर्दै भने :” तिमीहरुलाई आफ्नो इतिहास बारे अरू केही सोध्नु छ ?” ।

“…हामीहरु अहिले देखिएको यो स्थितिबाट विकसित भएर आएका हौं भने यो तत्कालीन चौआयामिक समय कालमा रहेका सबै मानिसहरू हाम्रा पूर्वजहरु हुन…” । एक जना विद्यार्थीले प्रश्न गरे: “…अहिले हामी रहेको यो चौआयामिक समय २०६७ साल छ र हाम्रो वास्तविक समय काल ४०६७ साल हो । तब के त, अहिले यहाँ कुनै मानिसलाई भेटेर हामीले हाम्रो बारेमा बतायौं भने उनीहरूले विश्वास गर्लान त ?” ।

यस पटक ती बुढा प्राध्यपकले लामो सुस्केरा हाले अनि बिस्तारै बोल्न सुरु गरे:” आजको यो समय-यात्राको अर्को उद्देश्य यो पनि हो कि, तिमीहरुले यो कुरा बुझ्नु पनि जरुरी छ कि हाम्रा पूर्वजहरुले कति अभाव र दु:खका बीच यो विज्ञानको ढोका खोलेका थिए । जसको मद्दतबाट आज हामी इतिहासको यात्रा र वर्तमानमा पूनरागमन दुवै गर्न सक्छौं …”। उनले अगाडि भने “… हाम्रो यो समयारोहण यान उनिहरुकै योगदानको फल पनि हो । तर पनि अहिलेको स्थितिमा यो यथार्थलाई कसैले बुझ्ने छैनन् । सायद यो परावैज्ञानिक कुरा बुझ्न सक्ने मानिस र त्यो पनि नेपालमा त ज्यादै कम होलान …” । उनले आफ्नो कुरा जारी राखे :”… किनभने पश्चीमी देशमा Time Machine को परिकल्पना १८औं शताब्दी देखी नै चले पनि नेपालमा भने बि. सं. २४२५ देखि मात्रै यसतर्फ सोच्न थालिएको थियो । समय पनि एउटा पदार्थ नै हो र कुनै पनि पदार्थको लम्बाई, चौडाई उचाइ र गहिराई जस्तै समयको आयाम भित्र पनि आवत जावत गर्न मिल्छ भन्ने कुरा सुनेर मात्रै हुदैँन बुझ्न निकै कठिन हुन्छ “।

“हैन… यो कुरा साह्रै जटिल त छैन नि?” अर्का एकजना विद्यार्थीले फेरि प्रश्न गरे । “सरलता र जटितला भन्ने कुरा वैज्ञानिक सिध्दान्तको कुरा मात्रै नभै समाजको विकास र यन्त्र वा उपकरणको उपलब्धतामा पनि भर पर्छ ।…कुनै पनि कुरालाई बोल्नु र लेख्नु मात्रै हैन प्रमाणीत गरेर देखाउन नसकिने अबस्थामा साँचो कुरा नै भएपनि मानिसले विश्वास गर्ने छैनन् ।

“ध्वनी भन्दा छिटो गतिमा चल्ने यानको निर्माण भएमा कुनै यान आकाशमा उडेर अवतरण गरीसकेपछि मात्रै त्यसको ध्वनी सुनिन्छ भन्ने कुरा समेत मानिसलाई सुरु सुरुमा विश्वास गर्न निकै गाह्रो भएको थियो …”। प्राध्यापक आफ्नो आख्यान जारी राख्दै बताउन थाले:”.. त्यसरी नै प्रकाशको गति भन्दा छिटो चल्ने यान निर्माण भएमा पहिला यान अवतरण हुन्छ र त्यसपछि मात्रै यानको छायाँ देखिन्छ… यो कुरा सुन्नु र बुझ्नुमा धेरै फरक छ…” । निकै लामो आख्यान पछि उनले आफ्नो आख्यान पुरा गरे :”… कुनै पनि यानको गति प्रकाशको गति भन्दा बढी भएमा त्यो समयको चौआयामिक स्थितिमा प्रवेश गर्न सक्छ भन्ने कुरा अहिलेको शिक्षित मानिसले सिद्धान्तगत रुपमा बुझे पनि प्रयोगात्मक रुपमा सम्भव मान्ने छैनन् किनकि हालको अबस्थामा त्यसको प्रयोगात्मक परिक्षण गर्ने उपलब्धता मात्रै हैन सोचको समेत अभाव छ” ।

“ल आउ अब हामी हाम्रो देशको भौगोलिक परिवर्तनको बारेमा बुझौं…” यति भन्दै प्राध्यापक फेरि बोल्न सुरु गरे:” अहिले यो चौआयामिक समयकाल अर्थात २०६७ सालमा सगरमाथाको उचाइ ८८४८ मिटर छ, तर बि. सं. २६७८ मा नेपालको उत्तर पुर्वी भागमा ठूलो भुकम्प जान्छ र तिब्बतियन प्लेट माथि उठ्दा सगरमाथाको उचाइ पनि ९०१२ मिटर हुन्छ…” । “त्यसो भए त त्यतिबेला धन जनको निकै ठूलो नोक्सान भयो होला नि …?” एक जना बिद्यार्थीले प्रश्न गरे । “..धनको नोक्सान भए पनि जनको भने हुन पाएन…” प्राध्यापकले मुस्कुराउँदै भने “.. किनकि त्यसको ५ वर्ष अगाडि नै नेपालका वैज्ञानिक जगदिश शर्माले “भुकम्प सूचक यन्त्र”को आविष्कार गरी सकेका थिए र भूकम्प जानुभन्दा १२ घण्टा अगाडि नै मानिसहरु यस्ता दैवी प्रकोपको भविष्यवाणी गर्न सक्षम भैसकेका थिए” ।

“…ल हिँड… त अझै केहीसमय बाँकी नै छ…हामी अब २६७८ सालको फागुन १३ गतेमा जाऔं र सो भौगोलिक परिवर्तनलाई आफ्नै आँखाले हेरौँ”
सबै जना यान भित्र प्रवेश गरे र यान फेरि बिना आबाज अन्तरिक्षमा बतासिएर एकैछिनमा गाएब भयो ।

उधारो आदर्श (लघुकथा)

सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।

“…म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ…” पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो “…राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको”।

“मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्…” दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो “… राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु ” ।

“मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन…” तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो “…मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको”।

उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।

“तिमीहरु सबै यहीँ नै रहेछौ,…देशमा भर्खरै ठुलो राजनैतिक परिवर्तन भएको छ …थाहा पायौ ?…” भित्र पस्दापस्दै चौँथो व्यक्तिले पहिलो व्यक्तितर्फ हेर्दै भन्यो “…तिम्रो दलले आफ्नै सरकार बने मात्रै समस्या समाधान हुने भन्दै अहिलेको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ..”।

त्यसपछि उ दोस्रो युवकतर्फ फर्यो “…अनि तिम्रो दलका नेताहरु बीच भने हालको अबस्थामा के गर्ने भन्ने वारेमा गम्भीर मतभेद भएछ…” उसले अगाडि भन्यो ” …त्यसैले अब कसलाई समर्थन र कस्को विरोध गर्ने भन्ने वारेमा मतभेद हुँदा तिम्रो दल टुक्रीने पक्का भएको छ “।

त्यसपछि उसले तेस्रो व्यक्तिलाई हेर्दै भन्यो “परिवर्तत अबस्थामा के निर्णय लिने भने निर्क्योल गर्न नसकेपछि तिम्रा दलका वरिष्ठ नेतहरु भने अहिले छिमेकी राष्ट्रका राजदूत भेट्न विदेशी नियोगमा पुगेकाछन् ” ।

परिवर्तन 

bribe त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।

मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।

केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।

पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।

हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ ….जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।

संस्कृति प्रेम

लोकगीत प्रतियोगिताको समापन समारोहमा गएर मन्त्रीज्यूले निकै सान्दर्भिक र सागर्भित भाषण दिए : “संस्कृति नै हाम्रो पहिचान हो…हाम्रो संस्कृति रहेसम्म मात्रै हामी रहन्छौं, संस्कृति नै रहेन भने हाम्रो अस्तित्व नै रहँदैन । त्यसैले हामीले हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्नु पर्छ …, …”

तालीको गडगडाहटद्वारा मन्त्रीज्यूको भाषणको स्वागत गरीयो । गन्यमान्य व्यक्ति र अन्य विद्वान वक्ताले उहाँको संस्कृति प्रेमको उच्च मूल्याकंन गरे । आफ्नो भाषा र संस्कृतिप्रति मन्त्रीज्यूको सदभाव र झुकाव देखेर उपस्थीत जनसमुदाय गद्गद् भयो ।

कार्यक्रम समापनपश्चात् मन्त्रीज्यू हतार हतार आफ्नो चिल्लो आरामदायी गाडीमा पसे । गाडीका ढोकाहरु ढाकढुक बन्द भए । मन्त्रीज्यूलाई बिदाइ गर्न आउनेहरु गाडी बाहिरबाटै हात जोडेर अभिवादन गर्दै थिए ।

गाडीभित्रको रेडीयोमा मधुरो स्वरमा यौटा पुरानो नेपाली गीत बजिरहेको थियो । चालकले गाडी स्टार्ट गर्नै लागेको थिए, मन्त्रीज्यूको आवाज आयो : “ खै, रामबहादुर, पहिले त्यो गीत बन्द गर त …!…यहाँपनि दुई घण्टासम्म पट्यार लाग्ने लोकगीत सुन्दा-सुन्दा दिक्क लागेको छ … बरु एफ. एम. लगाऊन, त्यहाँ नयाँ-नयाँ हिन्दी र अंग्रेजी गीतहरु बज्दै होलान ।”

(साप्ताहिक—२१-१०-२०५७)