अपरिवर्तित परिवर्तन (लघुकथा)

त्यति बेला किसोर अबस्थाकै थियो, भारी बोकेर गुजारा गर्ने उसको बाबुले रातमा डराई-डराई “…अब श्री ३ को सरकार जान्छ र ‘रामराज्य’ आउँछ…” भनेको उसले सुन्ने गरेको थियो । ‘श्री ३’ र ‘श्री ५’ भनेको के हो भन्ने नबुझे पनि ‘रामराज्य’मा भने उसको विशेष ध्यान थियो । अक्षर-कागज नपढेको भएपनि गाउँमै सुनेको रामायणको कथाको आधारमा उसले सो ‘रामराज्य’ आएपछि सबैले सुख पाउनेमा ढुक्क थियो ।

श्री ३ फालिए, र प्रजातन्त्र पनि आयो । तर अचानक केही समयमै उसको बाबुको मृत्यु भएकोले सुख र रामराज्य चाहिँ हैन, बाबुको डोको र नाम्लो भने उसको थाप्लोमा आयो । जीवन गुजारा गर्न अर्को कुनै उपाय र सहारा नभएकोले उसले पनि बाबुकै जस्तो भारी बोक्ने काम सुरु गर्‍यो ।

उसले दशकौँ भारी बोकेपछि देशमा फेरि निकै हलचल भएको भान उसले पायो। ठूला-ठूला कुरा नबुझे पनि यस पाला भने देशमा असली प्रजातन्त्र आउँछ रे अनि सबैले सुख पूर्वक बाँच्न पाउँछन् रे भन्ने सम्म उसले पनि बुझ्यो । राजनैतिक वृत्त र उपल्लो तहमा के कस्ता परिवर्तन भए उसले भेउ सम्म पनि पाएन । तर गाउँकै नेताहरूले “…अब तिमीहरू सबै सही अर्थमा स्वतन्त्र भएका छौ…” भनेको उसले पनि सुन्यो ।

दोस्रोपल्ट ‘स्वतन्त्र’ हुँदासम्म उसको शरीर कमजोर भइसकेको थियो । स्वन्त्रताको फल उ सम्म नआए पनि यति बेला सम्ममा उसको थाप्लोको नाम्लो र भारी भने उसकै छोराको थाप्लोमा सरिसकेको थियो । यस बीचमा न गाउँमा कुनै कल-कारखाना खुले, न बिजुली पुग्यो न बाटो नै बने । त्यसो त बाटो बनेर गाडीले सामान वसार-पसार गर्न थाले आफ्नो व्यवसाय चौपट हुन्छ भनेर उसका दौँतरीहरू बीच कहिलेकाहीँ कुराकानी पनि हुने गर्थ्यो ।

उसको छोराले भारी बोक्न थालेको केही वर्ष पछि देशमा फेरि परिवर्तनका आवाजहरु उठ्न थाले । धेरै सम्मको चर्काचर्की र जोडतोडमा कहाँ, कहाँ के कस्ता छल-फल, लेन-देन र बाँडफाँडमा कुरा भए उसले बुझेन । तर गाउँको चौतारीमा घाम ताप्दै गर्दा उसले फेरि गाउँका नवनेताहरुले “अब भने हामीहरु साँचो अर्थमा देशका नागरिक भयौँ र अब हाम्रा कुनै मालिक छैनन् हामी ने देशका मालिक भयौँ …जनता अब सम्प्रभूसत्ता सम्पन्न भए…” भनेको सुन्यो ।

ऊ चौतारीबाट जुरुक्क उठ्यो र वनदेवी थानमा पुग्यो । फाटेको चप्पल भएपनि त्यसलाई फुकालेरै वनदेवीको अगाडि लम्पसार पर्‍यो र निन्याउरो मुख लगाएर मनमनै देवीसँग पुकारा गर्न लाग्यो : “ हे माता!, रामराज्य, प्रजातन्त्र, गणतन्त्र केही चाहिएको छैन…. तर मेरो पुर्पुरोको नाम्लो र भारी मेरो नातीले भने व्यहोर्न नपरोस्…”

10 Responses to “अपरिवर्तित परिवर्तन (लघुकथा)”

  1. inashrestha Says:

    >wow!story tells a tale, but true.

  2. बिष्णुनन्द चाम्लिङ्ग Says:

    >यो लघुकथालाई समय सान्दर्भिक देशको बास्तबिक कथा भन्न रुचाउँछु म । कुँदिएका शब्दहरुमा जडिएका सुन्दर भावका थुङ्गाहरु बेजोड सुहाएको छ । संदेश प्रबाहका निम्ति जन्मेको यो लघुकथाले जनचेतना जनजनसम्म अबश्य फैल्याउँने छ । दिलिप जी हजुरको कलमले यस्तै सन्देशमूलक लेखहरु निर्नतर लेखिरहोस ।धन्यबाद !

  3. Prajwol Says:

    >राम्रो कथा । तर धेरै नेपालीका लागी यो कथा नभएर वास्तविकता भएको छ । राजनैतीक infrastructures हरुको स्थापना नभए सम्म प्रजातन्त्रको सहि मायना हुंदैन, त्यसैले नयाँ सोच/ विचारधराहरको विकास् भैरहनु नौलो होइन । तर हाम्रो दुर्भाग्य, अहिले सम्मका सबै "प्रगती"हरु केवल शब्दमा मात्र सिमित भएका छन । ठुला र गरुंगा शब्दहरु नयाँ आए, प्रजातन्त्रको उपयोग भन्दा पनि दुरपयोग् बढी भयो😦

  4. Luna Says:

    >' लघु कथा शिरोमणि ' जी ! हाम्रो जिजुबाले त्यो बेलाको सरकारका प्रतिनिधि आदि लाइ – राजा देखि प्रम – मन्त्रि हुदै सबै कुर्चीका जजमानहरुलाइ कसरि नमस्ते गर्थे ? धन्नै धन्नै भूइ नै छूएर . हाम्रा बाले कसरि गरे ? जिउ जस्ताको तस्तै राखी यस्सो टाउको मात्रै निहुराएर . तपाइले – मैले कसरि गर्छौ ? शरीर र टाउकोलाइ आफू संगै राखी हातले नमस्कार गर्छौ . यो परिबर्तन कै कारण हो . आर्थिक परिवर्तनको कुरामा पनि हाम्रा जिजु बा ले कसरी क लेखे अनी हामीले कसरी क लेख्यौ ? अब कामको कुरा भन्ने हो भने त्यो बेलाको हाम्रा जिजु बा का नाना सिउने दर्जीका नाति – पनातिको नाना मैले सिलारहेकी हुने छु यदि म मा लुगा सिउने कला छ भने । परिवर्तन नभएको होइन तर हुनु पर्ने जती द्रुत गतिमा चै हुन सकेन मुलुक घिचुबा नेताहरुले गर्दा ।

  5. वेदनाथ पुलामी (उमेश ) Says:

    >यो देशमा अहिलेका जस्त क्रान्तिकारी नेता भनाउदाहरु कहिल्यै नजन्मिउन !——— शक्ति पृथकिकारण लागु गर्न सक्ने र राष्ट्रिय विकाशको योजनालाइ अघि ल्याउनेहरु भन्दा विबाद मा फस्न चाहानेहरु बढी भए !

  6. दीपक जडित Says:

    >सदा जस्तै वजनले खँदिलो लघुकथा । कथाभित्रको कथाले पनि छोयो ।

  7. Anonymous Says:

    >दिपक ░ http://www.facebook.com/dendstha परिवतनको खाका तयार पार्ने र यसैमा रमाउने जमातमा सुख र शान्तिको कोरा कल्पनाबाहेक थप के कुरा हासिल गर्न सकिएला र! यस्तै देखिएको र लेखिएकोमा लेखक: दिलिप दा'को एकदमै सरल र समयसापेक्ष तथ्यलाई कथात्मकरुपमा उतारेकोमा मेरोतर्फबाट स-धन्यवाद छ ।

  8. Anonymous Says:

    nice one………..keep it up

  9. Abhishek Bhandari Says:

    Nice story ! keep it up man .. why wont you give it to some short teli flim makers

  10. Dambar Nepal Says:

    Dhery ramro man chhune katha.


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: