नारनदाईको होटेल

(धेरै देखी यौटा कथाको ‘प्लट’ दिमागमा थियो, आज त्यसैलाई यहाँ टाँस्दैछु )

उसको वास्तबिक नाम त शायद नारायण प्रसाद बुर्लाकोटी हो क्यार, तर सबैजना उसलाई ‘नारन दाई’ भन्थे । कुनै जिल्ला सदरमुकामको सडक छेउमा उनि यौटा सानो खाजा र खाना खुवाउने होटेल चलाउँथे।

भन्नलाई ‘होटेल’ भने पनि त्यो वास्तबमा केवल यौटा टहरा मात्रै थियो । चारैतिर जस्ता पाता उठाएर घेरीएको र छत पनि जस्ता ले नै छाएको त्यो टहरा मा एक्कै चोटि १० जना सम्मले खाना खान मिल्ने गरी पुरानो खाट र बेन्चहरु लहरै राखिएका थिए । त्यसो त नारन दाई उनकि श्रीमती र ३ जना केटा-केटीको सुत्ने, खाने, बस्ने कोठा, वा समष्टिमा उनको ‘घर’ पनि त्यहि नै थियो।

केहि समयको लागि कार्यालय बाट खटाईएकोले मेरो पनि बिहानको नास्ता देखी बेलुकोको खाना सम्म सबै खाने ठाँउ त्यहि नारनदाईको होटेल नै थियो । टहरा नै भए पनि जागरिला बुढा बुढिले सरसफाईमा राम्रै ध्यान दिएकाले प्राय: वरिपरिका कार्यालयका एक्ला कर्मचारिहरु त्यहि नै खाना खान जान्थें ।

हसिलो स्वभाव र मिजासीला नारनदाईको होटेलको अर्को विशेषता के थियो भने जिल्ला भरिका कार्यालयका खुफीया खबर र “ब्रेकिङ न्यूज” आधिकारिक रुपमा आउनु अगाडि त्यहि बाट खुल्ने गर्थ्यो ।

बिहान ६ बजेको चिया देखि दिनको खाना, खाजा गर्दै कहिले काहि हाकिम साबहरुको मुड चलेको दिनमा रातको बिजुली पानि समेत त्यहि चल्थ्यो । वरिपरि त्यत्ती सफा खाने ठाँउ नभएको र मानिस पनि फरासिला भएकाले नजिकका सबै सरकारी वा निजि कार्यालका सबैको बिहान देखि बेलुकि सम्म भेला हुने अखाडा त्यहि भएकोले त्यहिबाटै सबै कार्यालयको कार्यनीति देखी लिएर कर्मचारीहरुको सरुवा-बढुवा मात्रै हैन कुन अफीसमा कुन मान्छे जि एम बनेर आउँदै छ र कुन हाकिम कुन दिन फर्कदैँछन समेत त्यहिबाट सबैलाई थाहा हुन्थ्यो ।

एक दिन बिहान चीया खाँदै गर्दा नारन दाई मेरो नजिकै आए “…..सरहरुको हाकिम पनि सरुवा हुदैंछन रे होईन ?” उनले प्रश्न सोधको झै गरि मलाई यौटा नयाँ खबर दिए। “खै नारन दाई मलाई त थाहा छैन….” मैले अनभिज्ञता प्रकट गरें । नभन्दै त्यहि दिन दिउसो हाकिमको काठमाण्डौ सरुवा भएको समाचार आधिकारिक रुपमा कार्यालयमा फैलीयो । मेले सोचें नारनदाई पक्कै पनि हाउडे कुरा गर्दैनन् र हामिलाई भन्दा पहिला यिनलाई यस्ता गोप्य कुरा थाहा हुन्छन।

त्यसो त कहिले काँहि जाँडको सुरमा केहि कर्मचरिहरु उनलाई ” नारनदाई खोई हाम्रो पनि सरुवा गराई देउन” , ” मेरो पनि बढुवाको सिफारिष गरिदेउन” भनेर जिस्क्याउने गर्थे तर नारनदाई ति सबैलाई हासेरै उडाईदिन्थे ।

एक दिन म अबेर गरि रातको खाना खान पुग्दा, खाने ठाँउमा अरु कोहि थिएनन्, अनि खाना पनि सक्की सकेकोले नेपालिहरुको राष्ट्रीय त्वरित भोजन याने चाउचाउ बनाउदैँ नारनदाई मसंग कुरा गर्न थाले “…..अनि सर!, ‘त्यो’ भवनको ठेक्का पनि क्यान्सील हुने भो रे नी हैन?” हाम्रै अफिस परिसरमा बन्न लागेको नया भवनको शिलान्यास समेत भैसकेको अबस्थामा ठेक्का के क्यान्सील होला र भन्दै मैले भने ” हुन्न होला नारनदाई यो ठेक्का किन क्यान्सील हुन्छ र? …..कि कतै खुफीया खबर पाउनु भयो…..?” । “…..अनि के सरलाई पनि यो ठाँउ मन परेन रे?” उसले प्रसंग फेरेर अर्कै कुरा सुरु गर्‍यो “….. हैन मलाई यो ठाँउ मन परेन भनेर कसले भन्यो र? “खै काठमाण्डौ सरुवा हुन खोज्दै हुनुहुन्छ भनेर काग ले भन्थ्यो नि सर…..” । “ठाँउ मन नपरेको हैन, तर घरमै बसेर काम गर्न पाए अलि सजिलो हुन्थ्यो नी…..” मैले सरुवा हुन खोजेको कुराको भने सत्यता प्रकट गर्दै आफ्नो तर्क तेर्स्याएँ “…..ल त नारन दाई तपाईको ‘काग’ ले अरु पनि के के खवर दिन्छ मलाई बताउँदै गर्नु होला है” चाउचाउ सक्काएर म डेरातर्फ हिडें।

त्यसको भोलिपल्ट कार्यालयमा दुईवटा निर्णयको खबर आयो । यौटा नारनदाईले भने जस्तै भवन निर्माणको टेण्डर रद्द भएको थियो भने मेरो काठमाण्डौ सरुवाको पनि पत्र मैले पाँए । मलाई पत्र पाएको मितिले १५ दिन भित्र काठमाण्डौ कार्यालयमा हाजिर हुन निर्देश दिईएको थियो । म सरुवा पुर्जी लिएर सिधै नारनदाई कहाँ पुगेँ । नारनदाईले शायद म भन्दा पहिल्यै सो कुरा थाहा पाईसकेका थिए क्यार …..टाडैबाट मलाई “ल सर! घर जाने हुनुभयो हैन ….. तर माया नमार्नु होला” भन्दै तात्तातो चिया ले सत्कार गरे।

१५ दिनको म्याद भए पनि घर मै सरुवा भएकोले म सातौ दिनमा नै आफ्नो कार्यभार सुम्पेर काठमाण्डौ फर्कने तयारिमा जुटेँ ।

पत्र पाएको सातौं दिनमा म सबैसंग बिदाबारी भै काठमाण्डौ फर्कने उपक्रममा लागें, अफिसका हाकिम देखि सहकर्मी अनि चिनजानका सबैसंग बिदा भएपछि म चिया पिउने बहाना गरि नारनदाईसंग पनि बिदा हुन म नारनदाईको होटेलतर्फ लागें ।

कार्यालयको कम्पाउण्ड बाट नजिकै बाटो छेउमा रहेको नारनदाईको होटेलनिर आज निक्कै भिड जम्मा भएको थियो, म अनायश जम्मा भएको भिडबाट सशंकित हुदैं छिटो छिटो पाईला चालेर उनको होटलतर्फ लाग्न थालें…..त्यहा धेरैको संख्यामा तमासे र दर्शकहरु जम्मा भएका थीए ….. अलि नजिक गएर हेरें नारनदाई नीन्याउरो मुख लाएर आफ्ना झिटि गुण्टा र हाँडी चिण्डा त्यो टहरा बाहिर सारेर उदाश बसिरहेका थिए, उनको नजिकै उनका ३ जना केटा-केटि र श्रीमती पनि रनभूल्ल र पिडित अनुहारमा माटोको गाग्रो, फुटेको दराज अनी भाँच्चिएको खाट टहरा बाहिर सार्दै थिए ।

भिडको गाँईगुँई बाट थाहा भयो उनको त्यो होटेल राजमार्गको किनारामा निर्माण कार्य गर्न नपाईने जग्गामा बनेको रहेछ, त्यसैले नगर बिकासले भत्काउन लागेको रहेछ । अझै नजिक पुग्दा टहरा नजिक यौटा डोजर बिस्तारै बिनाशको दाह्रा फैलाउदै टहरा तर्फ बढदै गएको देखीयो । नारनदाई र उनका परिबार आफ्नो घर र कमाईखाने थलोको बिनास हेर्न नसकी भक्कानो फूटालेर रुन कराउन थाले । मलाई अझ नजिक जाने शाहस भएन र नारनदाईसंग बिदा नमागी ठाडै खुट्टा फर्के। सबैजनाको खबर पहिल्यै थाहा पाउने नारनदाई आज आफ्नै खबर पाउन नसकि बेसहारा बनेका थिए र सधै तिनकै होटेलमा खाने, पिउने, तिनैलाई जिस्क्याउनेहरु मुक दर्शक बनि हेरिरहेका थिए ।

9 Responses to “नारनदाईको होटेल”

  1. आकार Says:

    नारनदाइ को घटना कथा नभै कसैको वास्तविकता भएको अभास दिलाउँछ । अनि यस्ता घटनाहरु दिनहुँ घटिरहन्छन् । सायद “खुफिया” कुरा गर्ने नेपालीहरु को बानी पनि हो । लाग्छ हामीलाई अरुको कुरा नगरी,अरुको भित्री कुरा नखोतली खा’को पनि पच्दैन । अनि नारनदाइ को होटलमा बसेर हामी खाना पचाइरहेका हुन्छौँ । हामी गफ जोतिरहेका हुन्छौँ,जिस्किरहेका हुन्छौँ , तर परेको बेला केही गर्न सक्दैनौँ – मात्र ट्वाल्ल हेरिरहन्छौँ । जेहोस् – प्रसंग ले हाम्रो आफ्नै कथा बोलिरहेकोछ ।

  2. Basanta Gautam Says:

    मार्मिक कथा छ दिलिप दाइ!

    नारन दाइकहाँ नगर विकासवालाहरुचाहिँ भात खान आउँदैनथिए कि क्या हो:)

  3. Dilip Acharya Says:

    आकार जी !
    बसन्त जी!

    कमेण्टको लागी धन्यवाद!

    खासमा लघु कथा लेख्न बसेको लैख्दा लेख्दै ‘कथा’ भयो ।

    अनी नारन दाईकहाँ नगर विकासवालाहरु पनि भात मार्न त आउँथे तर के गर्ने केहि कुरो बताईदिएनन् । बताईदिएकै भए पनि ‘स्टे अर्डर’ लेराउन सक्ने औकात त थीएन बिचरा नारन दाईको के गर्ने? ।

  4. सुरेश परिवर्तन Says:

    दिलिपजी,
    प्लट राम्रो लाग्यो। प्रस्तुतिकरणमा केही परिमार्जन गर्ने की? कुनै जिल्ला सदरमुकाममा रहेको होटलमा कुराकानीका क्रममा शायद “जि एम”को कुरा नअा्््उ्ला की? सिडिओ, एलडीओ आदि राखे ठीक होला। अर्को चाँही बस्ने, सुत्ने ठाँ्उ्मा “रातको बिजुली पानि पनि चल्ने” भन्ने कुरा पनि हटा्उ्ने की?

    सुरेश परिवर्तन
    टोकयो

  5. Dilip Acharya Says:

    सुरेश परिवर्तन जी!

    अमूल्य समय दिई राख्नु भएको सुझावको लागी धेरै धेरै धन्यवाद !।

    जि एम को साटो ‘सिडिओ’, ‘एलडीओ’ राखे शायद अझ शान्दर्भिक पक्कै हुन्थ्यो होला तर जिल्लाका कार्यालयमा जि एम पनि हुन्छन ( सकेसम्म त्यहाँ बस्दैनन् र केन्द्रबाटै तलब खान्छन त्यो भिन्दै कुरा हो )

    बाँकी, यो कथा सत्य घटनामा आधारित त होईन तर केहि मेरो भोगाई र केहि कल्पनाको मिश्रण भएकोले पसल भन्दैमा आर्काको बस्ने, सुत्ने ठाँउमा रातभरि लाजै नमानी ” बिजुली पानि” धोकेर बस्ने धेरै ‘हकीमहरुलाई’मेलै नजिकबाट देखेकोले सोहि कुरा यहा उतारेको मात्र हुँ ।

    पैसा तिरेपछि जतिबेर बसे पनि हुन्छ भन्ठान्ने कुनै ‘ठालु’ आएर रातभरि खान, सुत्न नदीई ‘जाँड’ धोके पछि धरैजना नारन दाई र उनका परिवारले पाएको सकस यो कथामा देखिन्न । तर हामिकहा जिल्लाका छोटे राजाहरुमा यो मीचाहा प्रबृति एकदमै हावि छ र कैयौं नारनदाई र उनका परिवारहरु बिबिध कारणले त्यो सहन पनि मजबुर छन्।

    यो कथा अन्त कतै दिनु परेमा तपाईको पहिलो सुझाबको भने पक्कै अनुशरण गर्ने छु ।

    यहाको सुझाबकोलागी पून धन्यबाद सहित!

    दिलीप आचार्य

  6. sanju silwal Says:

    very nice

  7. Sumitra basnet Says:

    Ramero lagayo samaya anukal lago.

  8. Pratap Says:

    Nice story

  9. Debendra Subedi Says:

    http://nepalinovels.blogspot.com/2013/06/story.html
    yo page ma tapai ko story xa hernu hola hai


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: