… नेपाल आयो (लघुकथा)

Boeing and Coffin

अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।

विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।

त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।

पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।

करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।

अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।

सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।

अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।

कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।

नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।

समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।

धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।

सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।

सन्त बहादुर पनि ड्याडी भएछ !

त्यसो त सन्त बहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्त बहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।

सन्त बहादुर करिव ३५-४० वर्ष अगाडि २-३ जना परिवार सहित राजधानी भित्रिएको थियो । उसको पुर्खौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु-बाजेको जग्गा जमिन धेरै जना दाजुभाइमा बाँड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर उ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौँतारियो सन्ते

चिनजानका कोही नभएका अरू काममा आफ्नो बुता पनि नभएकोले त्यति बेला ४-५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पर्थ्यो । दिनभर ज्याला-मजदुरी र अरूको खेत-बारी खन-जोत गरेर साँझमा बस्ने ठाउँमा फर्कँदा उसका छोराछोरोहरू “बा ! बा !!” भन्दै उसको पछि लाग्थे ।

समय बित्दै गयो, सन्तले २-४ जना पुगि सरेका लाई पनि चिन्यो, मेहनत-मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रहँदै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १-२ जना खाइलाग्दाहरूका ठाउँको जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जा टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउँमा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउँथ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १-२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा-छोरीहरू उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।

अझै केही समय बित्दा देशमा केही परिवर्तन भयो र जमिन जोत्नेको पनि जमिनमा भाग आउने कानुन बन्यो । सन्त बहादुरको जीवन झनै आशावादी बन्यो । समयको प्रवाहसँगै ‘जोत-को-पोत’ भन्ने कानुन र भूमिमा द्वैत स्वामित्वको अन्त गर्ने नियम बनेपछि भने उसको जीवनको तस्विर नै बदलियो ।

सुनिन्छ, केही समय अगाडि उसले आफ्नो मोहियानी बापत आएको २ रोपनी जग्गा करौडौंमा बेचेको छ । आजकल ऊ डेराको घर छाडी आफ्नै जमिनमा बनेको सुन्दर घरमा बस्छ । घर मुनिको सटरमा उसको आफ्नै किराना पसल छ । उसका छोरा-छोरीहरू पनि कोही कलेज पढ्छन् त कोही काममा लागिसके । बिहान बेलुकी सन्त आफ्नो पसलमा आफैँ बस्छ र गाउँलेहरू उसलाई ‘सन्त साउ’ भनेर बोलाउँछन् । अँ त, भनिरहनु नपर्ला उसका शिक्षित छोराछोरीहरू उसलाई आजकल ‘ड्याडी’ भनेर बोलाउने गर्छन् ।

दुई सुत्रकथा !

जनता र नेता

Election in Nepal“यी नेताहरू सबै फटाहा हुन…” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।

“हो त नि… कसैले केही गर्ने हैनन् …सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।

“एउटा- दुईटा मात्रै हैनन् … के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।

“के गर्नु… कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।

“हैन यो लाइन पनि कत्ति ढिला बढेको…२ घण्टा घाममा उभ्भिदा- उभ्भिदाँ खुट्टै दुखी सक्यो …” लाममा पछाडि रहेका एकजना बुढा बा ले भने: “…आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।

जस- अपजस

आकस्मिक कक्षमा भर्ना हुन आएको बिरामीलाई सकुशल बिदा गर्दै चिकित्सकले बिरामीका परिवारलाई रोगको जटिलता बताए । “आधा घन्टा मात्रै ढिला भएको भए पनि ज्यानको खतरा थियो …” “…समय रहँदै आई पुगेकोले हामी बिरामीलाई बचाउन सफल भयौँ


सात दिन देखि अस्पतालमा भर्ती भएको बिरामीको अचानक मृत्यु हुन्छ । “के गर्नु….उपचारमा त कुनै कसर छाडेका थिएनौ तर मर्ने र बाँच्ने त कहाँ हाम्रो हातमा छ र ! “ तीनै चिकित्सकले बिरामीका परिवारलाई सान्त्वना दिन्छन् ।

विपरीतको आकर्षण (लघुकथा)

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि  भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व वा विचारवान् जस्तै देखिन्थे।

फरक यत्ति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एकजना मन्दिरबाट फर्कि रहेका हुन्थे भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्ति प्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे ।

मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, सौम्य भाव र घाँटीमा लट्केको क्रसमा अपूर्व शान्ति लुकेको आभास हुन्थ्यो भने चर्चतर्फ जान लागेका महाशयलाई पनि मन्दिर बाट फर्केका व्यक्तिको निधारको त्रिपुण्डक, गलाको रुद्राक्ष र निधारको टीकामा अद्भुत आभाको महसुस हुन्थ्यो ।

समय बित्दै जाँदा दुबैजनालाई अर्कोपक्षको आचरण, समर्पण, चरित्र र व्यक्तित्वमा झन् झन् ओज, उर्जा, पवित्रता र उपलब्धिताको बोध हुन थाल्यो । दुबैको मन्दिर र चर्चको आवागमन जारी नै रह्यो भने प्रत्येक जम्काभेटमा एक-अर्का प्रतिको आकर्षण, झुकाव र कौतुहलता झन् झन् बढ्न थाल्यो ।

केही दिन उनीहरू दुबैजनाको जम्काभेट हुने स्थानमा उनीहरू देखिएनन् ।

आज फेरि अचानक दुबैजनाको पुरानै मोडमा जम्काभेट भयो । दुबैजना एकदम अच्चमित र आश्चर्यचकित भए । दुबैजनाले बाटोमा टक्क उभिए र एक-अर्कालाइ विस्फारित लोचनले हेर्न थाले। सधैं मन्दिर बाट फर्कने र रुद्राक्ष धारण गर्ने व्यक्तिको गलामा आज क्रस लट्किएको थीयो र उनी श्वेत वस्त्र धारण गरेर हातमा बाइबल लिएर हिँड्दै थिए भने दिनदिनै चर्च जाने व्यक्ति आज त्रिपुण्डक धारण गरेर, गेरुवा वस्त्रमा हातमा गीता लिएर हिँड्दै थिए ! ।

चार सुत्रकथा

जनक्रान्ति

प्राडो चढ्ने सर्वहारा नेताका मोटरसाइकल चढेर आएका क्रान्तिकारी कार्यकर्ताले बन्दको बेलामा साइकल चढेर हिँड्ने सामन्ती लाई नराम्रो सँग गोदेछन् ।

आँङको भैसी

यातायात क्षेत्रमा सिन्डिकेट प्रणाली खारेज गर्ने मिलुजुली सरकारका दुई दलले शान्ति स्थापना र राज्य व्यवस्थाका विविध कार्यहरूलाई चरण बद्ध रूपमा कार्यान्वयन गर्न पालै पालो सरकार प्रमुखको भूमिका निर्वाह गर्ने निर्णय गरेछन्”

खोक्रो आदर्श

जातिय विभेदको अन्त र स्वतन्त्रता र समानताको बढावा गर्ने आयोजना गरिएको सामाजिक भेलामा बोल्न आएका विद्वान नेताले आफू, कनिष्ठ नेता र दलित जाती सबैलाई एउटै लहरमा राखेर आयोजकले आफ्नो वेइज्जत गरेको ठम्याई भेला बहिष्कार गरेछन् ।

पाखण्ड

देशमै औषधि उपचारको यथोचित सुविधा उपलब्ध भएको सारगर्भित भाषण सक्काउने बित्तिकै रुघाखोकीको उपचार गर्न वरिष्ठ नेता विदेशतर्फ लागेछन् ।

औसत स्थिति (तीन सूत्रकथा)

Ghus

शहरको एउटा छापाखानामा उनीहरू  दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद  र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै ‘हिस्सा’ दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य वृद्धिका कारण ‘पुरानै दररेट’ भन्दा बढी दिन नसक्ने प्रेसवालाको निचोड थियो ।

केही समयको भाउताउ र मोलतोल पछि निश्चित रकममा दुबैको कुरा मिल्यो । कर्मचारीले आफ्नो फाइलबाट छपाउनु पर्ने पर्चाको एउटा नमुना निकाले र प्रेसवालाले सो नमुनालाई आफ्नो कम्प्युटरमा उतार्न लागे। पर्चामा लेखिएको थियो :- “घुस दिनु र लिनु महापाप हो !”

त्यस ठाउँमा एउटा बृहत् कृषि मेलाको आयोजना भएको थियो । गाउँका मात्रै हैन, शहरबाट समेत ठूला-ठूला नेताहरू सो मेलाको शोभा बढाउन त्यहाँ उपस्थित भएका थिए । स्टेजको एकतर्फ स्थानीय किसानहरू ले उब्जाएका उन्नत, फलफूल र तरकारीका नमुनाहरू राखिएका थिए ।

औपचारिक रूपमा कार्यक्रम सुरु हुने बित्तिकै बहालवाला कृषि मन्त्रीले आफ्नो पक्षको सरकार आउने बित्तिकै कृषि क्षेत्रमा आमूल परिवर्तन देखिन थालेको बताएर ओज पूर्ण भाषण छाँटे । भर्खरै खूइलिएका विपक्षीका नेताले आफ्नो कार्यकालमा लिइएको खुला बजार नीतिका कारण बजारमा गुणस्तरीय  बिउबिजन र मल खाद उपलब्ध भएकोले कृषिमा भएको प्रगतिको जस आफूहरूले पाउनु पर्ने तर्क तेर्स्याए ।

नेता-उपनेता र कृषिसँग सात जन्म कुनै सम्बन्ध नभएका लाउके र उप-लाउकेहरुले समेत भेलामा आ-आफ्नो धारणा व्यक्त गर्ने मौका पाए। आफ्नै घरमा नयाँ तरिकाले ब्याड सारेर १० किलोको काउली फलाउने सन्ते, गोबर, खरानी र कालोमाटोको निश्चित मात्रा मिसाएर माटो उर्बर बनाउन सफल बिर्खे र गाउँकै सर्जाम प्रयोग गरेर बेमौसमी तरकारी उत्पादन गर्न सफल हर्केले आफूले पनि बोल्न पाइन्छ कि भनेर धेरै बेर पर्खै। तर ठूला नेता र विज्ञ विद्वानले बोल्दा बोल्दै उनीहरूको बोल्ने समय नै आएन ।

धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो ।

“धनको पछि नलाग्नुस, धन आरोग्यको दुश्मन हो। स्वास्थको ख्याल गर्नुस..जीवन जिउने अचूक सूत्रका लागि बाबाको तीन दिने शिविरमा आउनुहोस् “

पर्चाको तलतिर केही सानो अक्षरमा लेखिएको थियो : टिकट दर रू १००, ५०० र ३०० मात्रै । पुनश्च : बाबा हाल स्वास्थ उपचारको क्रममा रहनु भएकोले शिविरको कार्यक्रम एक हप्तापछि मात्रै सञ्चालन हुँदैछ ।

नाता ! (लघुकथा)

केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो ।

मैलो कमिज र पुरानो पाइन्ट लगाएर हिँड्दै गरेको त्यो व्यक्तिको पहिरनले नै उसको आर्थिक स्थितिलाई दर्साइरहेको थियो । त्यो अपरिचित व्यक्तिसँग छुट्टिसकेपछि मैले उसँग सोधेको थिएँ “…अनि ऊ तिम्रो भाइ कि दाइ ?”

“दाजु न भाइ, म त बाऊको एक्लो छोरो तिमीलाई थहा छैन र …?” उसले जवा दिएको थियो । “… उ त मेरो फुपूको छोरा पो हो …” । “फुपूको छोरा पनि त दाजुभाइ नै हुन् नि हैन र ?” । मेरो प्रश्नको उसले एकैछिन रोकिएर जवाफ दिएको थियो “…अँ…त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे…” ।

आज पनि मैले उसलाई बाटोमा एकजना उसकै उमेरको अपरिचित तर समृद्ध व्यक्तिसँग हिँड्दै गरेको देखेर सोधेँ ” अनि उ को नि ?” । “उँहा मेरो दाइ हो” उसले झट्ट जबाफ दियो । “हैन तिमी त एक्लै छोरा हैन र?” मैले सोधेँ । “हो, तर मामाको छोरा भनेको त आफ्नै दाइ नै त हो नि …” उसले सटीक जबाफ दियो ।

Follow

Get every new post delivered to your Inbox.